उच्च अदालत पाटनद्धारा राजुनाथ पाण्डेको निलम्बन यथावत्

0 Shares

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ ।

न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै राजुलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत निस्तेज बनेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले अनियमितताको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न दिएका थिएनन् । गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले गरेको आग्रहलाई तत्कालीन सरकारले अस्वीकार गर्दै आएको थियो ।

उपमेयर सुनिता डंगोल र अरु वडाध्यक्षहरुको सहयोगमा गुरागाईं आफ्नो कार्यकक्षमा पुगेका थिए । त्यसक्रममा नगर प्रहरी बल र गुरागाईं पक्षधरबीच घम्साघम्सी भएको थियो ।

आफ्नो कार्यकक्षमा पुगेर काम थालेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भनी नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेका थिए ।

आफूलाई गैरकानूनी रुपमा निलम्बन गरेको भनी पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएका थिए ।

अहिले उच्च अदालतले अन्तरिम आदेश दिएको त्यही निवेदन खारेज गरेको हो । रिट निवेदन खारेज भएपछि अन्तरिम आदेश स्वतस् निष्क्रिय भएको छ भने पाण्डेको निलम्बनले निरन्तरता पाउने अवस्था बनेको हो ।

सम्बन्धित समाचार