जेनजी प्रदर्शन : विश्वभर किन फैलियो युवामा असन्तुष्टिको लहर ?

0 Shares

काठमाडौं । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनको नयाँ लहर फैलिँदै गएको छ । सरकारहरूविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवाहरू सडकमा उत्रिएका छन् ।

यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्‍यो । यो परिवर्तन हप्तौंदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूहरूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीले राजनीतिक प्रतिष्ठानविरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए ।

हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका जेनजी विरोध प्रदर्शनको झल्को दिएको छ । यी आन्दोलन विभिन्न तत्कालीन कारणबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको नातावादले सघाएको छ ।

तर सबै आन्दोलनको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्रायः नेतृत्वविहीन यी आन्दोलनका सहभागी सन् १९९६ देखि सन् २०१० बीच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् ।

बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भने, ‘यी विरोधहरूको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीहरूले युवा पुस्ताका चिन्ताहरू- चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता- सम्बोधन गर्न सकेका छैनन् भन्ने हो, जब संस्थागत बाटोहरू बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।’

विश्वभरको आन्दोलन आपसमा प्रेरित

विभिन्न मुलुकका यी आन्दोलन सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ ।

मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य(शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचारविरुद्धको विरोधले शासन संकट निम्त्याएको छ ।

इन्डोनेसियामा सांसदको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य भए ।

दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बर ८-९ मा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलंकाली र सन् २०२४ को बंगलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । त्यसैको प्रभावमा मडागास्करका युवाहरूले पनि आन्दोलनलाई सशक्त बनाए ।

मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएको विरोध केही सातामै सरकारविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्ततः बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले ।

‘वन पिस’ झण्डास् पप संस्कृति र प्रतिरोधको प्रतीक

यी आन्दोलनमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ- कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मंगा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ ।

नेपालमा सिंहदरबार र मन्त्रालयमा यही झण्डा प्रदर्शनकारीहरूले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो ।

पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भने, ‘हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दै छौँ ।’

उनका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटनाहरू बढेका छन् । तर सरकारले अपराधविरुद्धका प्रयासलाई कमजोर बनाएको छ । ‘शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्वःस्फूर्त रूपमा सडकमा आएको हो,’ उनले भने ।

गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइएका थिए । अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त हुनुभएको थियो । तर टाफुरले भने, ‘यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।’

डिजिटल युगमा ‘जेनजी’ आन्दोलन

इतिहासमा युवाले नै ठूलो आन्दोलनहरूको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०–१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

‘सूचना आदान-प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्महरू अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलनहरू तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्,’ नाडेलले स्पष्ट पारे ।

नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाहरूले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली, गरिब–धनीबीचको असमानता र सरकारविरुद्धको योजनाबद्ध र्‍यालीहरू प्रचार गरे ।

कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आदान–प्रदान गरे ।

‘भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ, नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो,’ नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारीले भने, ‘हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्‍यौँ, डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।’

सम्बन्धित समाचार