काठमाडौं । नेकपा क्रान्तिकारीका महासचिव मोहन सिंह वैद्यले पदबाट राजीनामा दिएका छन् । गत असोस २९ देखि कार्तिक १ गतेसम्म बसेको केन्द्रीय समिति बैठकमा उनले पार्टी महासचिव पदबाट राजीनामा दिएको पत्र पेश गरेका हुन् ।
लामो समय पार्टी नेतृत्वमा रहेका वैद्यले जेनजी आन्दोलनपछि पार्टीका कार्यवहाक महासचिव सिपी गजुरेललाई पद हस्तान्तरण गरेको केन्द्रीय सदस्य इन्द्र राउतले जानकारी दिए ।
‘स्वास्थ्यका कारण महासचिव कमरेड बैठकमा उपस्थित हुन सक्नु भएन, भर्चुअल रुपमा बैठकलाई सम्बोधन गर्नु भयो, बैठकमा महासचिवको राजीनामा पत्र सुनाइयो, बैठकले राजीनामा स्वीकार गरी सिजी गजुरेललाई जिम्मेवारी दियो,’ राउतले भने ।
जेनजी आन्दोलनपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका छन् । यस्तै, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का बाबुराम भट्टराईले सक्रिय राजनीतिबाट राजीनामा दिएका छन् ।
तर, जेनजी आन्दोलनका तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्ने कुनै संकेत देखाएका छैनन् ।