काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्ण बहादुर विष्ट र वडाध्यक्ष भण्डारी मिलेर ६८३ जना लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाएर करिब साढे ७३ लाख रुपैयाँ खाएको जनाएको हो ।
अख्तियारको अनुसन्धानअनुसार मृत व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने अभिलेख तयार गरिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम निकालिएको पाइएको छ ।
वडा सचिव बुढाले लाभग्राहीका नाममा आफैले ४७९ वटा औँठा छाप लगाएको र कार्यालय सहयोगी कठरियाले २०४ वटा औँठा छाप नक्कली रूपमा प्रयोग गरेको कुरा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो ।