काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने सम्झौता भएको हो ।
यो सम्झौताअनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ ।
साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधामा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाईबाट १९ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।