घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय

0 Shares

महोत्तरी । तिहार पर्व नजिकिँदै गर्दा महोत्तरीका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ ।

फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि स्थानीय दंग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाट नगद पाउन थालेपछि गृहिणीले आम्दानी लिन थालेका हुन् ।

‘के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, ब्यापारीले अहिले नै एक हजार बैना थमाएर गए,’ गृहिणी हरिप्रिया महतो भने, ‘हैन, यो फूल दिपावलीताका फुल्ने गरी लगाउने हो भने त राम्रै आम्दानी पो हुने रहेछ ।’

फूल लिन आउँदा अझै एक हजार दिने बोलकवोल ब्यापारीले गरेका उनको भनाइ छ । ‘फूलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरै आएर व्यापारीले पैसा दिँदै छन्,’ हरिप्रियाकै छिमेकी रामवती चौधरी भनिन्, ‘अहिले यही पैसाले मेरो बटुवा (कपडाको सुर्के थैली) धनी भएको छ ।’

मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ । दिपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतो बताउँछन् ।

सम्बन्धित समाचार