बिपी राजमार्गमा अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी छाड्ने

0 Shares

काठमाडौं । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ ।

भोलि शनिबार बिहानैदेखि सवारी साधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्ण रुपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

शुक्रबार बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोलिएको र बाँकी दिउँसो मंगलटारको माम्तीमा ट्रयाक खोलेपछि अवरुद्ध राजमार्गमा सवारी खुलाइन सहज भएको हो ।

कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँशी, गिम्दीबेँशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँशी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको बताए ।

उनका अनुसार ट्रयाक खुलाइए पूर्ण रुपमा यातायात सञ्चालन भने शनिबार बिहानदेखि गरिने छ ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो ।

सम्बन्धित समाचार