ओलीलाई महेश-प्रचण्डलाई दिपशिखाको भर

0 Shares

काठमाडौं । सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।

पूर्वप्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका २४ जना, ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा कटिएका ३४ जना सुरक्षामा कटिएका फिर्ता भएका हुन् ।

जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन पूर्वप्रधानमन्त्री एवं पार्टी नेतृत्वलाई सुरक्षा कटौती गरेपछि आ-आफ्नो सुरक्षाका लागि आफै जोह गर्न थालेका छन् ।

जेनजीको आन्दोलनमा कुटाई खाएका कांग्रेस सभापति देउवा पार्टी बैठकमा अझै उपस्थित हुन सकेका छैनन् । कहाँ बस्दै आएका छन् भन्ने बारे जानकारी दिएको छैन ।

दुई दिन बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत देउवाले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई दिएर अनुपस्थित भए । उनको सुरक्षाबारे पार्टीले के योजना बनाएको छ? भन्ने बारे सार्वजनिक भएको छैन ।

यस्तै, अध्यक्ष ओलीको सुरक्षा कटौटी गरेपछि एमाले पोलिब्यूरो सदस्य एवं पूर्वयुवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा खटिएका युवाले गरेका छन् । बस्नेतले आफ्नो क्षेत्र भक्तपुरको गुण्डुमा राखेर युवाहरुले सुरक्षा दिएका छन् ।

ओलीलाई पार्टीका अरु नेता कार्यकर्ता र युवाले साथ नदिँदा बस्नेत ढाल बनेर सुरक्षाको प्रत्याभूति गराएका छन् । जेनजी आन्दोलनमा ओलीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेर राखेको थियो ।

आन्दोलनबाट सार्वजनिक भएसँगै ओलीलाई बस्नेतले सुरक्षा दिएर भक्तपुरको गुण्डुमा राखेर पार्टी गतिविधिमा ओलीलाई सक्रिय बनाएका छन् ।

यस्तै, माओवादी केन्द्रका संयोजक प्रचण्डलाई पार्टी केन्द्रीय सदस्य एवं योङ कम्युनिष्ट लिग (वाईसीएल)का पूर्वअध्यक्ष समेत भएका जनमुक्ति सेनाका कमाण्डर रामप्रसाद सापकोटा ‘दिपशिखा’ ढाल बनेर उभिएका छन् ।

जेनजी आन्दोलनपछि प्रचण्ड दिपशिखाकै नेतृत्वमा युवाहरुकै घेरामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक भएका थिए । त्यतिबेला दिपशिखाकै नेतृत्वमा पूर्व जनमुक्ति सेनाले सुरक्षा दिएका थिए ।

दसैं बिदामा प्रचडलाई दिपशिखाले सिन्धुपाल्चोक राखेर पार्टी गतिविधिमा सक्रिय बनाए । पछिल्लो समय सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी निकालेपछि पूर्वजनमुक्ति सेनाले तीन घेरामा सुरक्षा दिने भएको वाईसीएल अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

‘प्रचण्ड कमरेडको सुरक्षा राज्यले गर्न नसके पूर्वजनमुक्ति सेनाले सुरक्षा दिन्छ, जनयुद्ध भर जनमुक्ति सेना र जनताले सुरक्षा गरेका हुन’ वाईसीएल अध्यक्ष ओलीले भने, ‘अब पनि प्रचण्ड कमरेडको सुरक्षा पूर्वजनमुक्ति सेना र पार्टी कार्यकर्ताले गर्छन् ।’

संयोजक प्रचण्डको तीन घेरामा पूर्वजनमुक्ति सेना राखेर बाहिर पार्टीकै युवा कार्यकर्ता अनुसन्धानको रुपमा सादा पोशाकमा खटाएको ओलीले जानकारी दिए ।

सम्बन्धित समाचार