काठमाडौं । कामना सेवा विकास बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको बैंक अध्यक्ष सुदीप आचार्यले जानकारी दिए ।
साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ४.७८९४ प्रतिशत नगद लाभांश (करसहित) १४.७८९४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा-नोक्सानलगायत विवरण सर्वसम्मत पारित गरेको छ ।
आगामी चार वर्षका लागि संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी तथा डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, आव २०८२/८३ का लागि बैंकको लेखापरीक्षक समितिले सिफारिस गरेअनुसार एनबीएसएम एन्ड एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।
साधारणसभामा प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको र आगामी दिनमा संस्थालाई अझ दिगो बनाएर सेयरधनीलाई प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।