झापामा ४५० घर डुबान, उद्धार गर्दै प्रहरी

0 Shares

झापा । बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बाढीले ४५० घर डुबानमा परेको हो । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ,’ उनले भने, ‘करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौँ ।’

उनले मेचीनगर नगरपालिकाको कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको बताए ।

त्यस्त, शिवसताक्षी नगरपालिका १० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए ।

झापा गाउँपालिका २ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरुको उद्धार गरी स्थानीय कुवाडी माविमा स्थान्तरण गरिएको छ ।

त्यस्तै, शिवसताक्षी ४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । झापा १, ६ र ७ मा माइखोलाको बाढी पसेको छ । बाढी पीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए ।

यस्तै भद्रपुर नगरपालिका ५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तमा शरण लिएर बसिरहेका छन् । मेचीनगर १५ स्थित सतिघट्टा र ज्यामिरगढीको बीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार