बितेका १२ घण्टाभित्र पर्सामा सबैभन्दा बढी वर्षा

0 Shares

काठमाडौं । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।

विभागले बारा र पर्सामा भएको वर्षा अतिभारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ ।

यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । ५० भन्दा बढी मापन केन्द्रमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।

विभागले हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति धेरै स्थानमा वर्षा हुने जनाएको छ ।

सम्बन्धित समाचार