रास्वपामा सन्तोष परियारले भने– पार्टीको विशेष महाधिवेशन गरौं

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताएका छन् । यसका लागि उनले केन्द्रीय समितिको बैठकमा दुईटा विकल्प प्रस्तुत गरेका छन् । पहिलो मंसिरमा महाधिवेशन र दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना ।

यी दुई मध्ये एउटामा जानुपर्ने उनको प्रस्ताव छ । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी फागुन ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति विगतमा तोकिएको स्मरण गरे । त्यसअनुसार पार्टी महाधिवेशन गर्ने गरी अभियान चलिरहेकै बेला परिस्थिति बदलिएकाले छिटो महाधिवेशन गर्न सकिने   उनको पहिलो प्रस्ताव छ ।

‘अब यो बदलिँदो परिस्थितिमा महाधिवेशनलाई अगाडि ल्याएर छिटो महाधिवेशन गर्न सक्छौं, त्यो महाधिवेशन मंसिरमा गर्न सक्छौं’ परियारले समितिमा राखेको भनाई उल्लेख अनलाइनखबरसँग भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने अहिले भएका सबै समितिहरु भंग गरौं यो केन्द्रीय समितिलाई महाधिवेशन गर्ने आयोजक समितिमा रुपान्तरित गरौं ।’

यसो गर्दा जिल्ला जिल्लामा भएका सदस्य संख्याको भारमा प्रतिनिधि लिएर आउने र एउटा विशेष खालको महाधिवेशन गरेर अगाडि जानसकिने उनको प्रस्ताव छ । महाधिवेशनपछिको संगठन, विचार, नीति र राजनीतिक मुद्दामा आधारित भएर एउटा स्पष्ट कार्यदशासहित प्रतिनिधि सभाको चुनावमा होमिने उनको प्रस्ताव छ ।

प्रतिनिधि सभाको चुनाव फागुन २१ गतेका लागि तोकिएको छ । उक्त चुनाव समयमै हुनपर्ने र चुनावमा जाँदा महाधिवेशनपछिको संगठन लिएर जाँदा पार्टीलाई अझ धेरै फाइदा पुर्‍याउन सक्ने उनको प्रस्ताव छ ।

यदि मंसिरमा महाधिवेशन नगर्ने हो भने विस्तारित बैठक गर्ने र अगाडि बढ्न सकिने उनको दोस्रो प्रस्ताव छ ।

‘होइन भने एउटा विस्तारित बैठक गरौं दशैं तिहार पछाडी अथवा कहाँ गर्न सकिन्छ मिति तोकौं । विस्तारित बैठकमा कुन तहको साथीहरु सहभागी हुने त्यो पनि टुंगो लगाऔं’ परियारले भनेका छन्, ‘त्यो विस्तारित बैठकले पार्टीको संगठनको पुनर्गठन गरौं, विचारको पुनर्गठन गरौं गरौं, राजनीतिक मुद्दाको पुनर्गठन गरौं र एउटा कार्यदिशा पारित गरौं ।’

 

सम्बन्धित समाचार