काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनपछि क्षति भएसँगै बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न आग्रह गरेको हो ।
गत सोमबार भएको जेनजीको आन्दोलनको पहिलो दिन करिब २० युवा तथा विद्यार्थीको मृत्यु भएको थियो । त्यसपछि अक्रोशित जेनजी समूहले मंगबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गर्दा मुख्य सरकारी कार्यालयसँगै भौतिक संरचना ध्वस्त भएका थिए ।
प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबारसहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन् ।
सरकारी तथा निजी सम्पत्तिमा तोडफोडसँगै आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ । यसरी भएको क्षतिमा बिमितको धन सम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो ।
साथै, प्राधिकरणले पछिल्लो परिस्थितिका कारण भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रुपमा नियमित गर्न कम्पनीलाई निर्देशन दिएको छ ।