पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

0 Shares

काठमाडौं । दक्षिण पश्चिमी जापानमा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन ।

युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कृपया भूकम्पको झट्का बलियो भएका क्षेत्रहरूमा नजानुहोस्, भूकम्पका कारण सुनामीको कुनै खतरा छैन ।”

जापानको आणविक नियमन प्राधिकरणले भूकम्प गएको क्षेत्रमा इकाता आणविक ऊर्जा केन्द्र सामान्य रूपमा सञ्चालन भएको जनाएको छ । “इकाता ऊर्जा केन्द्रमा कुनै असामान्यता पाइएको छैन र अपरेसन जारी छ”, प्राधिकरणले भनेको छ ।

सरकारका प्रवक्ता योशिमासा हयाशीले कुनै पनि विद्युत् संयन्त्रमा सुनामीको कुनै चेतावनी वा असामान्यता नभएको पुष्टि गर्दै भूकम्पबाट कति क्षति भयो भन्नेबारे अधिकारीहरूले जाँच गरिरहेको बताए । “हामी जवाफ दिनका लागि हरसम्भव प्रयास गर्नेछौँ”, उनले भने ।

प्रशान्त ‘रिङ अफ फायर’ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान टेक्टोनिकरूपमा संसारको सबैभन्दा सक्रिय मुलुकमध्येको एक हो ।

करिब १२ करोड ५० लाख जनसंख्या भएको जापानमा हरेक वर्ष करिब एक हजार पाँच सय भूकम्पको झट्का महसुस हुन्छ । अधिकांश भूकम्प साना हुन्छन् र ठूलो भूकम्पले पनि सामान्यतया थोरै क्षति पुर्याउँछ ।

सम्बन्धित समाचार