काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा‘प्रभाकर’ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल नजिकिँदै गएका छन् । तीन कम्युनिस्ट पार्टीका आशा गरिएका नेताहरू एक ठाउँमा उभिएर सैद्धान्तिक, राजनीतिक, सांगठिनक र समाजवादी नीतिका विषयमा बहस गर्दै आएका हुन् ।
नेपाल वाम आन्दोलनको भविष्यप्रति प्रश्न उठ्न थालेको भन्दै तीन नेता आ–आफ्नो पार्टीको सीमारेखाभित्र रहेरै बहसको थालनी गरेका छन् । माओवादी धारका साझा सङ्गठन ‘सहिद बेपत्ता स्मृति प्रतिष्ठान’ ले आयोजना गरेको कार्यक्रममा उनीहरूले ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ मा अन्तर्क्रिया गर्ने कार्यक्रम गरेका छन् । यो सशस्त्र युद्धमा मृत्यु भएका र बेपत्ताको स्मृतिमा गठन भएको माओवादीको साझा संस्था हो । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका मूल नेतृत्व परम्परागत विचार, कार्यशैली र संरचनामा चलेको भन्दै तीन नेताले नयाँ प्रयोग गर्ने भन्दै बहस सुरु गरेका हुन् ।
पहिलो पुस्ताका नेता एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबाट वामपन्थी आन्दोलनमा नयाँ ध्रुवीकरण कठिन भएको दाबी उनीहरूको छ। तीन नेताबिच पटक पटक भएको अनौपचारिक छलफलमा वाम आन्दोलनको साझा मञ्च बनाउने समझदारी भएको छ । त्यही समझदारी अनुसार साउन ६ मा पुष्पलाल स्मृति दिवसदेखि एउटै मञ्चबाट बहस थालेका छन् ।
नेपालका कम्युनिस्ट पार्टीहरूले पटक पटक राज्य सञ्चालन गरे पनि राजनीतिक, विचार र सिद्धान्त अनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै शर्मा, भुसाल र चन्दले नयाँ विचारसहित सहकार्य थालेका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी मूल नेतृत्व राज्य सञ्चालनमा परीक्षण भइसकेकाले वाम आन्दोलनमा नयाँ प्रयोग हुन नसके आम मानिसमा झन् निराशा बढ्ने उनीहरूको ठम्याइ छ । तीन नेताको यो सहकार्य तत्काल पार्टी एकता गर्ने तहसम्मको नभए पनि एउटै मञ्चबाट वाम आन्दोलनको समीक्षा गर्ने रहेको छ ।
प्रचण्ड विप्लवलाई पार्टीमा ल्याएर बलियो बनाउन ध्यानमा निरन्तर लागि राखेका छन् । केही समय अघि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेर एकताका विषयमा छलफल गरेका थिए । पार्टीमा शर्माले दबाबमा राखेपछि विप्लवलाई एकतामा ल्याएर प्रचण्ड सन्तुलन गर्न खाजेका छन् ।
विप्लव यसअघि आफूहरूले एकताको प्रस्ताव बैठकबाटै पारित गर्दा समेत सुनुवाइ नभएको प्रचण्डलाई अप्ठ्यारो पर्न बित्तिकै एकता गर्ने अवस्थामा पुगेका छैनन् । सैद्धान्तिक, राजनीतिक, नीति तथा कार्यक्रममा मिल्दै गएमा एकता गर्नुपर्ने पक्षमा विप्लव नेकपा पुगेको छ । यद्यपि नेकपा भदौ २२ गते केन्द्रीय समिति बैठक बसेर आधिकारिक निर्णय गर्ने तयारी गरेको छ । विप्लवलाई शर्मा र भुसाले नयाँ कम्युनिस्ट पार्टी बनाउने भन्दै बहस निरन्तर उभ्याउने गरेका छन् । त्यसैमा ओलीले एकता गर्ने तत्काल अवस्था नभए पनि २०८४ सालको चुनावमा तालमेल गरेर केही सिट दिलाउने आश्वासन दिएको नेकपा नेताहरू बताउँछन् छन् ।
त्यसमा विप्लव भन्दा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा बढी सहमत छन् । विप्लवलाई तीन तिरबाट लोभ्याएपछि उनको पछिल्लो समय भाउँ बढेकाले माओवादीसँग एकता गर्न आनाकानी गर्न थालेको माओवादी नेताहरू बताउँछन् । सबैतिरबाट राम्रो अवस्था भएको भन्दै विप्लव आफ्नै नेतृत्वमा एमाले र माओवादी दुबैलाई धक्का दिने कम्युनिस्ट पार्टी बनाउन सकिन्छ कि भन्दै बहस र छलफलमा उत्रिएका छन् ।
महासचिव भुसालको एमालेमा ढोका बन्द भएकाले एकीकृत समाजवादीबाट राजनीति धेरै लामो समय जाँदैन भन्ने राम्रो बुझेका छन् । राजनीतिक सैद्धान्तिक रूपमा राम्रो बहस गर्न सक्ने भुसालले राजनीतिका बहाव कता बग्दै छ भन्ने नबुझ्ने कुरै भएन । यस्तो अवस्थामा एकीकृत समाजवादीलाई छोडेर नयाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन बहसमा तातेका छन् । माओवादी उपमहासचिव शर्मा तत्काल पार्टी छोड्ने पक्षमा छैनन् । अध्यक्ष प्रचण्डसँग पछिल्लो समय तिक्तता बढ्दै गएमा पार्टीमा बस्न सक्ने अवस्था नआएमा विप्लवसँग मिलेर नयाँ कम्युनिस्ट पार्टी बनाउने अवस्थामा पुग्न सक्ने धेरैको आकलन छ ।
प्रचण्ड सकेसम्म शर्मा पार्टी आफै छोडेर गए सजिलो हुन्थ्यो भन्ने अवस्थामा पुगी सकेका छन् । पछिल्लो समय प्रचण्ड र शर्माको संवाद नै रोकिएकाले विप्लवसँग बहस गर्दै गएमा उनी नयाँ ध्रुवीकरणमा जान सक्ने माओवादी नेताको आकलन छ । शर्मा सकेसम्म माओवादीको भावी नेतृत्व गर्ने गरी शक्ति आर्जन गर्न अनेक प्रयास जारी राखेका छन् । अहिलेकै अवस्थामा विप्लवकै नेतृत्वमा शर्मा भुसाल लगायत नेता कार्यकर्ता जोडिए पनि एमाले माओवादी केन्द्रलाई धक्का दिने गरी कम्युनिस्ट पार्टी बन्ने अवस्था कम देखिएको छ । उनीहरूसँग एमाले, माओवादी र एकीकृत समाजवादीका नेता, कार्यकर्ता र शुभेच्छुक जाने सम्भावना अत्यन्तै कम छ ।
विप्लवको शक्ति कति छ भन्ने यसअघिको निर्वाचनले समेत देखाइ सकेको छ । यस्तो अवस्थामा शर्मा र भुसाल दुवै टेस्ट भई सकेका नेता भएकाले विप्लवबाट मात्रै नयाँ क्रान्तिकारी ठुलै कम्युनिस्ट पार्टी बन्ने सम्भावना कम सम्भावना छ । पछिल्लो समय जनतामा कम्युनिस्टप्रति आकर्षण कम हुँदै गएको अवस्थामा नयाँ कम्युनिस्ट पार्टीबाट शक्ति आर्जन गर्न सकिन्छ भन्नु दिवा सपना जस्तै देखिएको विश्लेषकहरू बताउँछन् ।