काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था बढाइएको छ । अभिनेता खानको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा बढाइएको हो ।
आइतबार बिहान ४ बजेर ५५ मिनेटमा उनको घर बाहिर गोली चलेको हो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेता सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका दुई अज्ञात आक्रमणकारीले ३-५ राउण्ड गोली हानेका थिए ।
सलमानलाई पहिला राज्यले वाई प्लस सुरक्षा दिँदै आएको थियो । यस घटनापछि उनीसहित उनको घर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीले सुरक्षा दिन्छन् । यस घटनामा कसैलाई घाउचोट लागेको छैन ।
यसअघि पनि पटकपटक सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका छन् । एक अन्तर्वार्तामा पनि उनले आफ्नो जीवनको उद्देश्य सलमानलाई मार्नु भएको खुलासा गरेका थिए ।