काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका छन् ।
विभागका प्रवक्ताले एएफपीसँग भने, ‘स्थानीय समयअनुसार राति १ः२० मा सामान्य भनाभनपछि गोली चलेको थियो ।’
प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ । १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ ।
चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ । घाइते तीनै जनालाई न्यूयोर्क शहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।
‘आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,’ नयुयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । संदिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकाले औपचारिक रूपमा अभियोग लगाइएको छैन ।
दैनिक दशौँ हजार पर्यटक आउने शहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औँ स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो ।
न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा शहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो ।
गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए । ‘गन भायलेन्स आर्काइभ’का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।