काठमाडौं । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलंकीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ ।
‘अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ,´ उनले भने, `सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।´
महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आएका छन्। गतका वर्षमा पनि साउन महिना लागेपछि माछामासुको व्यापार कमी हुने गरेको थियो । यस वर्ष भने अझै व्यापारमा कमी आएको उनले अनुभव सुनाए ।
साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ। यस महिनामा व्रत बस्ने र माछामासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो । अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ । उनले भने, `अहिले पसल सुनसान छ ।´
कलंकीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा विरावट आएको गुनासो गरे । असार महिनासम्म दैनिक ३० किलोसम्म सामु बेच्ने गरेका रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाए ।
हाल राजधानीका करिब तीन हजारको संख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको संख्यामा सानाठूला पशुवधस्थल छन् । सानाठूला गरी राँगाभैँसीका करिब २५० वधस्थल छन् ।
पछिल्लो समय कामपामा मापदण्ड बमोजिम दर्ता नगरी माछामासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले जानकारी दिए ।
यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमित रूपमा अनुगमन गरिरहेको उनको भनाइ छ । माछामासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ ।