काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ ।
दोलखा निवासी थापा उक्त गण हडक्वाटरको बंकरमा ड्युटीमा रहँदा माघ १८ गते आफैँले बोकेको हतियारबाट गोली लागि घाइते फेला परेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको उनले बताए ।
त्यहाँ तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको थियो ।