थवाङ दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो, घटनाको सुक्ष्म अध्ययन हुँदैछ

0 Shares

काठमाडौं । सरकारले रोल्पाको थवाङ गाउँपालिका–१ मा वैशाख १७ गते भएको दुर्घटनाबारे सरकारले तीन दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गर्दै २० जनाको ज्यान जानेगरी भएको दुर्घटनाले सिंगो शोकमग्न बनाएको जनाएका छन् ।

घटनापछि तत्कालै सरकारको तर्फबाट गृह मन्त्रालयमार्फत् लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । सोही दिन जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले उक्त विज्ञप्तिमार्फत् घटनाको निष्पक्ष र सूक्ष्म छानबिनका लागि समिति गठन गरिएको जानकारी दिएको थियो। छानबिन समितिलाई दिइएको ३ दिनको समयावधि आज समाप्त हुँदै छ । विज्ञप्तिमा भनिएको छ, ‘समितिको प्रतिवेदन प्राप्त हुनुसाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने देशभरको सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण प्रतिबद्ध छ ।’

सडक दुर्घटना नागरिकको जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा देखिएका प्राविधिक तथा मानवीय त्रुटिहरूलाई सुधार गर्न सरकार दृढतापूर्वक अघि बढ्ने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार