न्युमेरेसी विक २०२५ सम्पन्न- गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

0 Shares

काठमाडौं । सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्य पुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ ।

यही प्रयासअन्तर्गत हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।

एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित गर्‍यो ।

कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।

कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भने, ‘एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ, प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो, विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिले विद्यार्थीमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।’

न्युमेरेसी विकमा विभिन्न गतिविधि समावेश गरिएका थिए । जसमा गणित कथा वाचन- जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड- गतिशीलता र द्रुत सोचको संयोजनलगायत तत्काल गणित बोल सूत्र- जसले विद्यार्थीलाई गणितीय विचारबारे सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।

एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणालाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै संस्थाले विद्यार्थीको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।

सम्बन्धित समाचार