काठमाडौँ । आगामी श्रावण २१ गतेदेखि २५ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शो मा म्याक्सस मिफा ७ एमपीभी विद्युतीय कार लन्च हुने भएको छ। चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ।
केही समयअघि यही म्याक्सस ब्रान्डकै ईटेरोन विद्युतीय लक्जरी फोर ह्वील ड्राइभ पिकअपसमेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो। ७ सिट क्षमताको यो लक्जरी एमपीभी लाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको बताइएको छ।
हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार यो मिफा७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त छ।
कम्पनीका अनुसार ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोलजस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले यूरो एनक्याप, सी९एनक्याप, ए-एनक्यापमा ५ स्टार रेटिङ पाएको छ।
यो गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ। प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै एडभान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ,हाई९परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ।