काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पछिल्लो एक वर्षको अवधिमा ६२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । उनीहरूले गैरआवासीय नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए ।
उनका अनुसार सोही अवधिमा कार्यालयले वंशजका आधारमा २२ हजार ४० र वैवाहिक अंगीकृत ६७५ वटा नागरिकता वितरण गरेको छ । साथै, कार्यालयबाट २२ हजार ४५५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
गत आवमा २२ हजार ४३२ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । ७८९ वटा नाबालक परिचयपत्र प्रदान गरिएको जनाउँदै सूचना अधिकारी प्रसाईंले सोही अवधिमा पारिवारिक पेन्सन, शपथपत्र र हलपहलसम्बन्धी सिफारिस २६२ वटा, संस्था दर्ता ७८ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण संकलन भएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचयनपत्र वितरण भएको छ । कार्यालयले विपद् पीडित १९ जना (पाँच जना मृतकसहित)लाई एक करोड १९ लाख ९० हजार राहत वितरण गरेको छ । एक सय नौ वटा हतियार नवीकरण गरेको छ ।