काठमाडौँ । चैत मसान्तको प्रभाव सकिएसँगै शेयर बजारमा सुधारको संकेत देखिएको छ। आइतबारदेखि नै बढ्न थालेको बजारले मंगलबार पनि निरन्तरता पाएको छ।
मंगलबार नेप्से सूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम पनि ४ अर्ब माथि नै छ। मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ। लगानीकर्ताले मंगलबारसम्म शेयर बेचेको पैसा मसान्तअघि पाउने भएकोले बजारमा बिक्री चाप देखिएको थियो। तर पछिल्ला दुई दिनमा भने मसान्तको प्रभाव कमै देखिन्छ। मसान्तको प्रभाव सकिएपछि अब बजारले सकारात्मक गति लिने लगानीकर्ताको आँकलन छ।
मंगलबार पनि फाइनान्स उपमूहमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ भने त्यसबाहेक अन्य उपसमूह र इन्स्योरेन्स समूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक नकारात्मक देखिएका छन् भने बाँकी १० उपसमूहको सूचक सकारात्मक छन्।
यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २.४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेको छ। मंगलबार नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ भने इमर्जीङ नेपाल र उन्नति सहकार्य लघुवित्तको पनि उच्च दरमा बढेको छ। यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ।
यस दिन सुर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड ५ लाख, हिमालयन रि इन्सयोरेन्सको १५ करोड ४५ लाख र नेपाल फाइनान्सको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।