कृषकको सहारा बन्दै ‘जियोकृषि एप’: मोबाइलबाटै तरकारीको बजार भाउ र विवरण

0 Shares

पाल्पा । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै पाल्पाका किसानहरू व्यावसायिक बन्नमा ‘जियोकृषि’ मोबाइल एपले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यो एपमार्फत किसानहरूले तरकारीको बजार भाउ, बिक्री विवरण र खेतीसम्बन्धी जानकारी मोबाइलमै प्राप्त गर्न सक्ने भएका छन्, जसले उनीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ।

रिब्दीकोट गाउँपालिका-२ का टिकाबहादुर राना जियोकृषि एप प्रयोग गर्ने किसानमध्ये एक हुन्। उनी भन्छन्, “हामीले तरकारी बिक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भइदिन्थ्यो, कहिलेकाहीँ हामीले पनि विवरण बिर्सने भएकाले समस्या हुन्थ्यो तर अहिले त्यस्तो हुँदैन।” चारवटा टनेलमा टमाटर फलाउने रानाले जियोकृषि एपबाट कुन समयमा कुन तरकारी लगाउने, मल र सिँचाइ कसरी गर्ने, तथा मौसमको जानकारी पाउँछन्।

रिब्दीकोट-२ कै तेजबहादुर राना पनि जियोकृषि एपका प्रयोगकर्ता हुन्। मिलनसार सहकारीलाई ५० केजी टमाटर बिक्री गरेपछि केही क्षणमै मोबाइलमा खरिदको विवरण र भुक्तानीको सन्देश आएपछि उनी दङ्ग परेका थिए। “पहिला गाउँघरमै ग्राहकको भाउमा तरकारी बेच्थेँ। जियोकृषि एप्स चलाउन थालेपछि मेरो जीवन शैली परिवर्तन भयो,” उनले बताए।

जियोकृषि एपले कसरी काम गर्छ ?

जियोकृषि एप सामाजिक उद्यमी महिला सहकारीको छाता सङ्गठन सेवा नेपाल र जियो कृषिको साझेदारीमा सञ्चालित छ। यसले किसान, तरकारी सङ्कलन गर्ने प्रतिनिधि र भुक्तानी दिने सहकारी सबैलाई एकैसाथ विवरण उपलब्ध गराउँछ। यो प्रविधिले लामो समयसम्म अभिलेख सुरक्षित राख्ने भएकाले कृषकहरूलाई सहज बनाएको छ।

हेफर इन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेका अनुसार, कृषकले जियोकृषि सेवामा आफ्नो उत्पादनको अभिलेख राख्न सक्छन् र सहकारीका प्रतिनिधिले उनीहरूको उत्पादन खरिद गर्न सक्छन्। ग्रामीण कृषकको पहुँचमा डिजिटल प्रविधि पुर्‍याएर उनीहरूलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको उनको भनाइ छ।

परियोजनाको प्रभाव र विस्तार

हेफर इन्टरनेशनलको सहयोगमा ग्रामिण आर्थिक विकास सङ्घ ९रेडामार्फत० एलएएलभिसी परियोजना सञ्चालित छ। यो परियोजनाले पाल्पाको तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र बजारीकरणमा काम गर्दै आएको छ।

मिलनसार सहकारीका अध्यक्ष कमला भण्डारीले एप्समार्फत डिजिटल अभिलेख राख्दा सबैलाई फाइदा पुगेको बताएकी छन्। उनले भनिन्, “तरकारीको कारोबार कागजमा राख्दा अभिलेख नरहने र दररेट फरक पथ्र्यो। एप्समार्फत डिजिटल अभिलेख राख्दा सबैलाई फाइदा पुगेको छ। पारदर्शी हुनुको साथै बजार व्यवस्थापन र योजना निर्माणको लागि समेत सहयोग पुगेको छ।” मिलनसार सहकारीले परियोजना क्षेत्र तथा अन्य क्षेत्रबाट समेत गरी दैनिक १० देखि १५ मेट्रिकटन तरकारी खरिद गरी बिक्री गर्दै आएको छ।

हेफरका इनोभेसन प्रमुख ताराप्रसाद पन्थीका अनुसार, ७० भन्दा बढी सहकारीका सदस्यलाई डिजिटल सेवामा पहुँच पुर्‍याउन जियोकृषि सेवामार्फत सहयोग भइरहेको छ।

सम्बन्धित समाचार