आज पाँच प्रदेशमा भारी वर्षा हुने, देशभरको मौसम कस्तो?

0 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानहरू तथा बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा रहिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार