कोटेश्वरबाट ४० किलो गाँजासहित धादिङका पाँच जना पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्।

बिहीबार कोटेश्वरको पाल्पाकोटमा रहेको एक घरबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उक्त घरमा बस्ने धादिङका सुमन चेपाङको डेराबाट प्रहरीले उक्त गाँजा बरामद भएको हो। उनीसँगै अन्य चार जना पनि पक्राउ परेका छन्।उनीहरू सबै जना धादिङकै हुन्। १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र सुमन चेपाङ अहिले हिरासतमा छन्।

उनीहरूबाट प्रहरीले एक लाख २५ हजार रुपैयाँ, तीन वटा मोबाइल र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ। कोटेश्वरमा गाँजाको किनबेच भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचनाको आधारमा परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो।

उक्त टोलीले पाँचै जनालाई डेरामा फेला पारी पक्राउ गरेको हो। एसपी बोहराका अनुसार सुमनले उक्त गाँजा धादिङबाट ल्याएका थिए। ‘गाँजा उनले धादिङबाट सार्वजनिक सवारीसाधनमा राखेर ल्याएका थिए। कोटेश्वरमा उनीहरूले किनबेच गरिरहेकै बेलामा प्रहरी पुगेर पक्राउ गरेको हो,’ बोहराले भने।

उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्‍याद प्रहरीले पाएको छ।

सम्बन्धित समाचार