काठमाडौं भ्यू टावरको काम नरोक्न उच्च अदालतको आदेश, बालेन शाहलाई लाग्यो धक्का

0 Shares

काठमाडौं। पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी भएको छ। महानगरको नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो।

काठमाडौं भ्यू टावरको निर्माण रोक्ने काठमाडौं महानगरको निर्णयविरुद्ध स्वच्छन्द बिकोई बिल्डर्सले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। गत माघ ९ गते काठमाडौं महानगरले पत्र पठाएर काठमाडौं टावरको निर्माण रोक्न भनेको थियो।

योसँगै न्यायाधीश प्रकाश खरेलको एकल इजलासले काम नरोक्न अन्तरिम आदेश दिएको हो। उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण गर्न बाटो खुला भएको छ।

उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमति लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुरसमेत तिरिसकेको भन्दै निर्माण नरोक्न आदेश दिएको हो।

इजलासले अन्तरिम आदेश दिएकाले काठमाडौं महानगरले अन्तरिम आदेश खारेजको मागसहित अर्को निवेदन दिन पाउँछ।

यो टावर १२ तलाको निर्माण गर्न अनुमति रहे पनि १९ तला बनाउन दिएको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईमाथि छानविन समितिसमेत बनाएका थिए।

प्रमुख प्रशासकीय अधिकृतसँग चलेको विवादका कारण काठमाडौं महानगरका मेयर बालेन र सरोजबीच विवाद चुलिएको छ। जसले अहिलेसम्म सभाको बैठक बस्न नसक्दा बजेट अन्योलमा परेको छ।

सम्बन्धित समाचार