काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर सात वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण संखुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ ।
त्यस्तै, जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका ३ दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी-कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गरे ।
प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
त्यस्तै, गुल्मीस्थित कालिगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका ५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको सहिद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।