काठमाडौं। गैरकानुनी रुपमा कल सेन्टर तथा मिटु डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) ले ६ चिनियाँ नागरिकसहित ५२ जनालाई ललितपुरको वालिफलस्थित दमकल चोकबाट पक्राउ गरेको हो।
उनीहरुले घर भाडा लिएर सोसल सफ्टवोयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैरकानुनी रुपमा कल सेन्टर तथा मिटु डेटिङ एप सञ्चालक गरी युवतीहरुलाई प्रलोभनमा पारी अनलाइन स्क्याम गर्ने गरेका थिए। त्योसँगै उनीहरुले क्रिप्टो कारोबार गर्ने गरेको सीआईबीले बताएको छ।
पक्राउ परेका उनीहरुको साथबाट स्रोत नखुलेको १३ लाख ९९ सय हजार ९ सय ५० रुपैयाँ, ७ थान ल्यापटप र ५४ थान मोबाइल बरामद गरिएको सीआईबीले जनाएको छ।
यस्ता प्रकृतिका गैरकानुनी गतिविधिमा आफू संलग्न नहुन र यस्ता प्रकारका गतिविधिबारे कुनै पनि सूचना वा जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा ब्यूरोमा जानकारी गराउन सीआईबीले अनुरोध गरेको छ।