काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिम हुने जनाएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुन सक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको बताएका हुन् । यस आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको छ ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।
असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
साथै, अन्य प्रदेशको पहाडी भागका एक दुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।