संसद बैठक बस्दै, निजामती विधेयक पारित हुँदै

0 Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो ।

प्रतिनिधिसभाको असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

आजका लागि निर्धारित कार्य सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छ ।

यो विधेयकमाथि सांसदले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्ने छ । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।

यस्तै, आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

सम्बन्धित समाचार