काठमाडौं । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा। मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।
निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन् ।
२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो । त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए ।
त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए ।