व्यस्त उपासना, कता गइन् आँचल ?

0 Shares

काठमाडौं । आँचल शर्मा अहिलको चल्तीकी नायिका हुन् । गत वर्ष उनी व्यस्त देखिइन् । ०८१ सालको नयाँ वर्षको दिनमा हलमा उनको अभिनय रहेको फिल्म ‘डिग्री माइला’ प्रदर्शनरत थियो ।

उनको अर्को फिल्म ‘वर एण्ड बधु’ भदौमा र फागुनमा ‘दुखी आत्मा’ प्रदर्शनमा आयो । त्यही साल उनले फिल्म ‘जेरी अन टप’को छायाङ्कन समेत भ्याइन् । एक नायिकाको वर्षमा तीन फिल्म प्रदर्शनमा र एक फिल्मको छायाङ्कन भ्याउनु राम्रै व्यस्ताता हो ।

‘जेरी अन टप’मा आँचल शीर्ष भूमिकामा छिन् । नायकमा अनमोल केसी छन् । तर, यस फिल्मपछि आँचलको हातमा नयाँ फिल्म परेको खबर बाहिरिएको छैन ।

फिल्मीवृतमा उनले नयाँ फिल्म साइन गरेको खबर नबाहिरिनुलाई विभिन्न कोणबाट चर्चा भइरहेको छ । कतिले ०८१ सालमा उनले खेलेका कुनै पनि फिल्मले लगानी नउठाएका कारण मेकरहरु टाढिएका हुन् भने अड्कलसमेत काट्न थालेका छ ।

हुन पनि त्यस्तै देखिन्छ । ०८१ मा प्रदर्शनमा आएका आँचलका सबै फिल्मले निर्माताको खल्ती मात्रै खुम्चाएका छन् । यो कुरा चलचित्र विकास बोर्डले दिएको बक्स अफिस रिपोर्टले पनि देखाउँछ ।

बर एण्ड बधुको ग्रस कलेक्सन ३२ लाख र दुखी आत्मको कलेक्सन ७१ लाख मात्रै छ । ‘डिग्री माइला’ निटक स्रोतका अनुसार यस फिल्मले पनि घरेलु बक्स अफिस कलेक्सनबाट लगानी उठान सकेको छैन ।

फिल्म फ्लप भएर मेकरले आँचललाई लिन नचाहेको बजारको हल्ला यी आँकडा हेर्दा पत्याउँ–पत्याउँ लाग्छ । तर, आँचल पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । ‘जेरी अन टप’ रिलिज हुन बाँकी नै छ । यो फिल्म हिट भए टाढिएका मेकर बलेका आगो ताप्न आइहाल्छन् । यदि यो गसिप आँचलको करिअरमा लागू भएको छ भने ।

एकातिर आँचलको हातमा फिल्म छैन भने अर्कोतर्फ नायिका उपासनासिंह ठकुरी धमाधम फिल्म साइन गरिरहेकी छन् । गत वर्षको असोजमा प्रदर्शनमा आएको उनको फिल्म ‘खुस्मा’ सुपरहिट भयो । चैत २९ मा आएको ‘कर्मा’ भने फ्लप भयो । तर, उपासना अहिले ‘खुस्मा’ टिमले बनाएको अर्को फिल्म ‘जलाकी’को छायाङ्कनमा व्यस्त छिन् ।

गत साता उपासनाले अर्को फिल्म ‘सुम्निामा’ पनि साइन् गरेकी छन् । मिलन चाम्सले निर्देशन गर्ने यो फिल्म छायाङ्कन असार मध्यतिरबाट सुरु हुने बताइएको छ । अहिले यसरी भटाभट फिल्म साइन गर्ने एक्ली नायिका हुन्– उपासना । उपासहनाको दिन अहिले बलेको छ ।

 

सम्बन्धित समाचार