काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को फाइनल १४ कार्त्तिकमा एक भव्य समारोहका बिच आयोजना हुँदैछ । फाइनल अगाडि प्रतियोगीहरूले एक फेसन शो गरेका छन् । प्रतियोगिता अन्तर्गत ‘द ग्ल्याम नाइट’नामक फेसन शोमा प्रतियोगीहरू तीन विशेष पहिरनमा र्याम्पमा प्रस्तुत भएका थिए ।
विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘द ग्ल्याम नाइट फेसन शो’ आयोजना गरिएको थियो । ख्यातिप्राप्त अभिनेता अभिनेत्रीहरू राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, रेखा थापा, पूजा शर्मा, सुपुस्पा भट्ट, गायक आनन्द कार्की लगायतका सेलिब्रेटीहरु सहभागी शोमा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा र्याम्प वक गरेका थिए । शोको ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरनको सौन्दर्य, संस्कृति र आकर्षण प्रस्तुत गरेका थिए। त्यसै गरी निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित ब्रान्ड प्रवद्र्धनलाई फेसनसँग जोडिएको थियो भने गाउन सिक्वेन्समा प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा रहेको शोमा कलाकार राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुस्पा भट्टले प्रतियोगीताका विजयीहरूले पहिरिने ताज सार्वजनिक गरेका थिए । गायक आननन्द कार्कीले आप्ना चर्चित गीतहरू गाएर मनोरञ्जन प्रदान गरेका थिए भने हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा हास्यव्यग्य प्रस्तुत गरेर हँसाएका थिए।
‘द ग्ल्याम नाइट फेसन शोले प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता देखाउने अवसर मिलेको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए ।
यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, विनीता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेतासमेत चयन गरिने आयोजकले जनाएका छन् । यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।