काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग भिड्ने भएको छ ।
खेल स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा दिउँसो पौने चार बजे सुरु हुनेछ । सिरिजको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो । तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
उता सिरिजमा आफूले खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो ।
लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ ।