काठमाडौं । १८ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि पञ्जाब किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैग्लोर (आरसीबी)ले उचालेको छ । चार पटक फाइन पुगेको आरसीबीले पहिलो पटक उपाधि उचालेको हो ।
आरसीबीले पञ्जाबलाई ६ रनले हराउँदै नयाँ च्याम्पियनका रुपमा नाम लेखाएको हो । जारी आइपीएलमा यी दुई टोलीबीच चौथो पटक भिडेको थियो । यी चार भेटमा आरसीबीले तीन पटक जित निकाल्ने क्रममा उपाधि कब्जा गरेको हो ।
यसअघि आइपीएलको फाइनल खेल्ने टोलीमा विराट कोहली मात्र एक्ला खेलाडी हुन् ।
आरसीबीले यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो । यी सबै फाइनलमा पनि कोहली सहभागी थिए ।
यता ११ वर्षपछि उपाधि नजिक पुगेको पञ्जाब उपाधिविहीन बन्न पुग्यो । पञ्जाबले सन् २०१४ मा पहिलो पटक फाइनल खेलेको थियो ।
आरसीबीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रनमा रोकिएको हो ।
पञ्जाबका जस इङ्लिसले बनाएको ३९ रन टोलीका लागि सर्वाधिक रन बन्यो । उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याको बलमा क्याच आउट हुन पुगे ।
ओपनर प्रियांश आर्याले २४ र प्रविसिमरन सिंहले २६ रन थपे। पहिलो विकेटका लागि आर्या र सिंहले ४.६ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । नेहाल वाडेरा १५ रनमा क्याच आउट हुन पुगे।
त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।
आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे ।
कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लुमा परे ।
मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थप्दा लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे।
१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट भए । रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लुमा परे ।
पञ्जाबका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान तीन तीन विकेट लिए । अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए ।