सरकार र यातायात व्यवसायीबीच सहमतिको नजिक, अपराह्नसम्म सवारी साधन चल्न सक्ने

0 Shares

काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार राति सहमति भएसँगै हल्का मात्रामा सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ । भौतिक पूर्वाधाूर तथा यातायात मन्त्रालयमा रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपछि पत्रकारसँग कुरा गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए ।

उनले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिएका हुन् ।

अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्ण रूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारे । संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुङ्ग्याउने प्रतिबद्धता जनाएकाले मंगलबार अपराह्नसम्म सार्वजनिक सवारी साधन चल्न सक्ने बताएका हुन् ।

यस्तै, सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका, जसले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेटसरह मान्यता दिएको थियो, स्थगित गर्ने सहमति भएको बताए ।

राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक सवारी साधन बन्द गर्दै आन्दोलन गरेका थिए । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायी ७ बुँदे मागसहित आन्दोलनमा छन् ।

नियमावली स्थगित भएसँगै अब देशभर यातायात सेवा सुरु हुने अपेक्षा गरिएको छ । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि देशभरका यातायात ठप्प पारेका छन् ।

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति, आन्दोलन स्थगित नहुने

सम्बन्धित समाचार