काठमाडौँ महानगरमा भाँडभैलो, बालेन र प्रशासकीय अधिकृत गुरागाई बिच पानी बाराबार

0 Shares

संगीता डांगी

काठमाडौँ । काठमाडौँ महानगर मेयर बालेन्द्र साह निर्वाचित भएपछि सबैको ध्यान खिचेका थिए । र्‍यापर महानगर मेयर भएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले समेत प्राथमिकताका साथ समाचार प्रकाशित गरे । पछिल्लो समय बालेन्द्रको कार्यशैलीकै कारण एकपछि अर्को गर्दै विवादमा मुछिन थालेपछि फेरी सबैको ध्यान त्यतातिर खिचिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई काठमाडौँको टावर निर्माणमा अनियमिता गरेको भन्दै अघोषित रुपमा बालेन्द्रले निलम्बन गरेका थिए । बालेन्द्र उपत्यका बाहिर गएको मौका छोपेर महानगर उपमेयर सुनिता डङ्गोलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई चार महिनापछि कार्यकक्षमा प्रवेश गराएकी थिइन । उनलाई कर्मचारीको हुलले महानगर प्रहरीलाई समेत पन्छाएर कार्यकक्षमा प्रवेश गराए ।

आफ्नो असहमतीका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गराएको भन्दै मेयर बालेन्द्र आक्रोसित भए । जसका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाई र मेयर बालेन्द्र बिच बोलचाल हुन सकेको छैन । जसका कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेत असर पर्न सक्ने विश्लेषण हुन थालेको छ । बालेन्द्रले प्रमुख प्रशासकीय अधिकृत फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बारम्बार आग्रह गरेका थिए । ओलीले प्रमुख प्रशासकीय अधिकृत फेर्न सुनेको नसुनेको झै गरेर टारे ।

प्रधानमन्त्रीले असहयोग गरेको भन्दै बालेन्द्र उनी विरुद्ध विरोधमा उत्रिए । जसका कारण प्रधानमन्त्रीले यसअघि गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा समेत मेयर बालेन्द्र नगएपछि ओलीले नआउनेलाई निम्तो नगर्नु भन्ने अभिव्यक्ति दिए । लगत्तै मेयर बालेन्द्रले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काउदै भ्रष्टाचार गर्ने प्रणालीलाई सहयोग गर्न नसक्ने भन्दै सामाजिक सञ्जालमा आक्रोस पोखे । यसरी बारम्बार प्रधानमन्त्री ओली र मेयर बालेन्द्र बिच जुहारी चल्दै आएको छ । जसका कारण संघीय सरकार र स्थानीय सरकार बिच समन्वय नहुँदा काम प्रभावित भएको छ ।

फेरी महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । केही दिनअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । पाण्डेले गुरागाईसँग आत्मआलोचना गरे पनि आफूलाई अनावश्यक रुपमा अवरोध गरेको भन्दै स्पष्टीकरण सोधेर बदला लिन खोजेका छन् ।

उता उपमेयर डङ्गोल र मेयर बालेन्द्र बिच सौहार्दपूर्ण सम्बन्ध त्यति नभएको महानगर स्रोतले जनाएको छ । उपमेयरले एमालेका हरेक नीति तथा कार्यक्रमलाई समर्थन गर्नुका साथै बालेन्द्रको विपक्षमा उभिदै आएकी छन् । प्रधानमन्त्री ओली मेयर बालेन्द्रको जुहारी चल्दा उपमेयर डङ्गोलले ओलीको समर्थन गर्ने गरेकी छन् ।

उनी आगामी निर्वाचनमा मेयरको तयारी गरेकाले महानगरका सकारात्मक निर्णयलाई सघाउने भन्दा पनि एमालेका हरेक निर्णयलाई समर्थन गर्ने गरेकी छन् । कार्यपालिकामा अल्पमतमा परेका मेयर बालेन्द्र कांग्रेस एमालेका वडा अध्यक्ष सहित उपमेयर विपक्षमा उभिएपछि काम गर्न सकस परेको महानगरका एक वडा अध्यक्षले बताए । यस्तै महानगरका तीन वटा वडा अध्यक्षले जिम्मेवारी नलिने विज्ञप्ति जारी गरेर घोषणा गरेका छन् । जसका कारण बालेन्द्रमाथि एकपछि अर्को गर्दै बदाब बढ्दै गएको छ ।

कार्यपालिका बैठक टार्दै बालेन
महानगर कार्यपालिकाको बैठक एक महिनाको अन्तरालमा बस्नुपर्ने कानूनी प्रावधान छ, तर ४ महिनाभन्दा बढी समयदेखि देखि बस्न सकेको छैन । पछिल्लो बैठक पुसमा बसेको थियो । कार्यपालिकामा आफू अल्पमतमा परेपछि मेयर बालेनले वैठक टार्दै आएको आरोप वडाध्यक्षहरुले लगाइरहेका छन् ।

महानगर कार्यपालिकामा मेयर र उपमेयर सहित ३२ वटै वडाका वडाध्यक्षहरु सदस्य रहन्छन् । त्यसपछि थप ६–७ जना विभिन्न पार्टीबाट मनोनित छन् । प्रशासकीय अधिकृत सदस्य सचिव हुन्छन् । मेयरले प्रशासकीय अधिकृतलाई एजेन्डाहरु दिने र अधिकृतले वैठक डाक्ने प्रणाली छ । तर, मेयरले यसमा कुनै चासो दिएका छैनन् । गत माघदेखि कार्यपालिका वैठक बस्न सकेको छैन । वडाध्यक्षहरुले वैठक माग गरिरहेका छन् ।

महानगरका हरेक महत्वपूर्ण निर्णयहरु कार्यपालिका वैठकले गर्नुपर्छ । चार महिनादेखि वैठक नबस्दा सबै नीतिगत कामहरु ठप्प रहेको स्रोतले बतायो । यसको सबैभन्दा ठूलो असर आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा पर्ने देखिएको छ । महानगरको बजेट र नीति-कार्यक्रम कार्यपालिका वैठकबाट पारित गर्नुपर्छ । १० असारभित्र बजेट ल्याइसक्नुपर्छ, तर अहिलेसम्म छलफलसमेत सुरु भएको छैन । फेसबुके स्टन्टवाजीमै रमाइरहेका बालेनले यसमा गम्भीरता नदेखाएको आरोप वडाध्यक्षहरुको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भिटो लाग्नेजस्तो नगर कार्यपालिका बैठकमा मेयरको भिटो लाग्दैन । यदि कुनै पनि प्रस्तावमा विवाद आएको खण्डमा बहुमतका आधारमा निर्णय लिने प्रावधान रहेको छ । बालेनसँग बहुमत नरहेको हुँदा उनले चाहेको प्रस्ताव सहजै पारित हुने अवस्था छैन । त्यही भएर पनि उनी कार्यपालिका वैठक डाक्न हच्किरहेको महानगर स्रोतले बतायो ।

सम्बन्धित समाचार