आज देशभर वर्षा हुने, सतर्क हुन महाशाखाको आग्रह

0 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

जसका कारण हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका थोरै स्थान र देशका बाँकी भागको एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थान र बाँकी प्रदेशका ‍एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार