काठमाडौं । राजधानी भित्रिने प्रमुख सडक मार्गको मुख्य नाका नागढुंगा-नौबिसे सडक खण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि राति बन्द गरेर काम हुँदै आएको थियो ।
आयोजनाले नागढुंगा-पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए ।
‘निर्माण आयोजनाले नागढुंगा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो, प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो,’ प्रजिअ तिवारीले भने ।
नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सूचना गरी काठमाडौंबाट जाने सवारी साधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारी साधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के-सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।