किन जान्छ झ्याप्प-झयाप्प विद्युत, के भन्छन् कुलमान ?

0 Shares

भूपिन ओली

काठमाडौं । गत शनिबार काभ्रेको धुलिखेलमा करेन्ट लागेर युवकले ज्यान गुमाए । सर्लाहीको घारीबथानका २८ वर्षीय उज्ज्वल भन्ने उपेश परियार मृत्यु भएको हो ।

उनको मृत्यु विद्युत प्राधिकरणको चरम लापरवाहीको एक नमूना हो । ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट छाडेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको थियो ।

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाबिना लाइन छाड्दा करेन्ट लागेको हो । यसअघि शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो ।

यस क्रममा प्राधिकरणको वितरण केन्द्रले सावधानी अपनाउँदै पशु चौपाय नछाड्न सूचना जारी गरेको थियो । तर, कार्यालयले असावधानी अपनाउँदा मजदुरको मृत्यु भएको हो ।

उसो त, प्राधिकरणमा हितेन्द्रदेव शाक्य प्रबन्ध निर्देशक बनेपछि लापरवाही हुँदै आएको छ । उनीअघिका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा पूरा विद्युत उपभोग गर्दै आएका सर्वसाधरण अघोषित रूपमा लोडसेडिङ खेपिरेका छन् ।

पाँच महिना कार्यकाल बाँकी हुँदा कुलमानलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएपछि हितेन्द्रदेव प्रबन्ध निर्देशक बनेका थिए ।

उनले जिम्मेवारी सम्हालेसँगै सर्वसाधरणले झ्याप्प-झ्याप्प लोडसेडिङ खेप्न बाध्य भएका हुन् । तर, प्रबन्ध निर्देशक शाक्यले आफ्नो कारण लोडसेडिङ नभएको दाबी गर्दै आएका छन् । यसका लागि उनी विद्युत प्रवाह व्यवस्थापनभन्दा सर्वसाधरणलाई स्पष्टीकरण दिन व्यस्त देखिएका छन् ।

के भन्छन् कुलमान ?

आफ्नो कार्यकाल सकिन पाँच महिना बाँकी हुँदा कुलमान घिसिङ सरकारको बर्खास्तीमा परेका हुन् । सरकारले बर्खास्त गरेका उनी आफूले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर, उनी काममा फर्किन पाएनन् । यसपछि उनी आफ्नो व्यक्तिगत जीवनमा बढी व्यस्त भएका छन् ।

यसैबीच तपाईको कार्यकालपछि किन अघोषित लोडसेडिङ भइरहेको छ ? विद्युत किन झ्याप्प-झ्याप्प गइरहेको हो ? भन्ने प्रश्नमा कुलमान भन्छन्, ‘व्यवस्थापिकीय र प्राविधिक विषय होला, यो कुरा उहाँहरूले मिलाउने हो, यही मिलाउन सक्नु भएन होला ।’

यस्तै, उनले सक्षम व्यक्तिलाई सरकारले अनुकुलन स्थानमा राख्न नसकेको बताए । उनी भन्छन्, ‘राइट म्यान राइट प्लेस गर्न सक्नु पर्यो ।’

सम्बन्धित समाचार