स्मार्टफोनको सफलतापछि साओमी अटो क्षेत्रमा प्रवेश, कस्तो पहिलो विद्युतीय कार ?

0 Shares

काठमाडौँ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीले पहिलो विद्युतीय कार सार्वजनिक गर्यो । पूर्ण विद्युतीय रहेको यो गाडी सेडान सेगमेन्टमा ल्याएको छ ।

स्मार्टफोन उद्योगमा सफल भएपछि साओमीको अटो क्षेत्रमा गरेको प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय संसार भर नै इभिको माग बढ्दै गएको छ । अझ चिनियाँ बजार इभी उत्पादनमा आक्रामक छ ।

साओमीले ल्याएको एसयू सेभेन ईभी ४९ सय ९७ एमएम लामो, १९ सय ६३ एमएम चौडा र १४ सय ५५ एमएम अग्लो रहेको कम्पनीले जनाएको छ ।

साओमी एसयू सेभेन स्ट्यान्डर्ड, प्रो र म्याक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। स्ट्यान्डर्डमा ७३।६ किलोवाट आवरको बीवाईडी निर्मित एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको फुल चार्जमा ७ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै प्रो मोडलमा ९४.४ किलोवाट आवरको सीएटीएलको ब्याट्री दिइएको छ । यसले एक पटकको फुल चार्जमा ८ सय ३० किलोमिटर रेन्ज दिनेछ।

त्यस्तै म्याक्समा १ सय १ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। डुवल मोटर रहेको यो कारले ६ सय ६३ एचपी पावर दिन्छ। यसले एक पटकको फुल चार्जमा ८ सय किलोमिटर रेन्ज दिने बताइएको छ ।

साओमी एसयू सेभेनलाई टेस्ला मोडल थ्रीको कडा प्रतिस्पर्धीका रुपमा लिइएको छ। तीन भेरियन्टमा उपलब्ध एसयू सेभेनको सुरुवाती मूल्य २ लाख १५ हजार ९ सय युआन तोकिएको छ।

सम्बन्धित समाचार