काठमाडौं । आईडीएल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आठ अर्ब रुपैयाँ हिनामिना गरेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त सहकारीले आठ अर्ब रुपैयाँ हिनामिना गरेको बताउँदै बचतकर्ता सदस्य र साहुहरूलाई लिनुपर्ने रकम माग दाबी गर्न भनेको हो ।
यमुना आईडीएलमा ३० हजारभन्दा बढी बचतकर्ताको आठ अर्ब रुपैयाँ बचत रहेको छ । समितिले ३० हजारभन्दा बढी बचतकर्तालाई ३५ दिनभित्र अनलाइनमार्फत माग दाबी गर्न भनेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आईडीएल यमुना सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिलाई लेखी पठाए बमोजिम समितिको कार्यालयले ऋण असूलीका साथै दायित्व भुक्तानीको प्रक्रिया अघि बढाइएको हो ।
सहकारी समस्याग्रस्त घोषणा भएपछि बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा छ । आईडीएल युमना आधादर्जन सहकारी संस्थाहरू गाभिएर बनेको हो । २०८० असारमा हाम्रो सगरमाथामा आईडीएल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभागबाट स्वीकृति लिएका थिए ।