काठमाडौँ । नेपाली धितोपत्रको दोस्रो बजारमा बुधबार पनि लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुतर्फ नै आकर्षित भएका देखिएको छ। लघुवित्त कम्पनीहरुमा मंगलबार पनि लगानीकर्ताहरुको आकर्षण देखिएको थियो।
बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये पनि लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १।६५ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.७४ प्रतिशत घटेको छ। अरु उपसमूहको गिरावट दर भने सामान्य रहेको छ।
यस दिन पनि शेयरमूल्य सर्वाधिक बढेका शीर्ष १० कम्पनीहरुमा सूचीमा ९ लघुवित्त कम्पनी रहेका छन्। जसमध्ये गुराँस लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मानुषि लघुवित्तको शेयरमूल्य ९.९१ प्रतिशत बढेको छ। ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६.७४ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा पनि यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन सर्वोत्तम सिमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम साढे ११ करोड नाघेको छ।
पछिल्लो ३ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचक ३.४३ अंक घटेर २००६.७८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४३ अंक र फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५२ हजार ६५ पटकको कारोबारमा २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।