पुलमुनी पिसाब गर्दा गाली गरेको निहुँमा काठमाडौंमा युवकको हत्या

0 Shares

काठमाडौं । काठमाडौंको परोपकारस्थित पुलमुनी एक जना पुरूषको हत्या भएको छ।

हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।

हत्या भएका व्यक्ति काभ्रे भुम्लु गाउँपालिका-१० का ४२ वर्षीय माइला भन्ने विक्रम तामाङ रहेको खुलेको छ।

वैशाख १६ गते बिहान साढे ११ बजेतिर धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो।

उपचारको क्रममा उनको साढे १२ बजे मृत्यु भएको थियो। प्रहरीले प्राविधिक एवं विभिन्न विधिको प्रयोग गरी आरोपीलाई पक्राउ गरेको हो।

आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ छन्।

प्रहरीले घटनामा प्रयोग भएका कपडा, चक्कु र एउटा मोबाइल बरामद गरेको छ। श्रेष्ठमाथि ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको छ।

एसपी जिसीका अनुसार उनीहरू सामान्य काम गर्ने व्यक्तिहरू हुन्। गाली गलौज गरेको निहुँलाई लिएर उनीहरूबीच झडप भएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनीहरू त्यही क्षेत्रमा बस्दै आएका थिए। पक्राउ परेका युवकले पिसाब गर्दा गाली गरेका कारण हत्या गरेको बयान दिएका छन्।

‘पुलमुनी पिसाब गर्दा गाली गरिरहन्थ्यो। त्यसदिन भेटेर हान्दिएँ। हानेर म भागेँ,’ उनले प्रहरीलाई बयानमा भनेका छन्।

विक्रमको पेटदेखि छातीसम्म पटकपटक चक्कु प्रहार भएको चोट थियो।

सम्बन्धित समाचार