काठमाडौं । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् ।
धुर्कोट गाउँपालिका ३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा उक्त परीक्षामा उत्तीर्ण भएकी हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह उत्तीर्ण गरेकी हुन् ।
यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरिन् ।
उनले भनिन्, “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो, छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।”
परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ थियो । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन् ।
“स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।”
उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् । उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी थिइन् ।
यसपछि करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् ।
उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा संकायमा अध्ययन गर्दैै छिन् ।