काठमाडौं । सामान्यतया एसईई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । तर, पर्वतमा १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसईई परीक्षामा सहभागी भएका छन् ।
दक्षिण पर्वतको पैंयुँ गाउँपालिका ४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसईई दिएका हुन् । उनी सोही गाउँपालिका ६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् ।
अधिकारी पर्वतबाट एसईई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए ।
उनका अनुसार २०७८ सालभन्दा अघि एसईई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विं.सं. २०७८ मा शिक्षा नियमावलीअनुसार एसईई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए ।
विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले कम उमेरदेखि नै विद्यालय गएकाले अधिकारीले १२ वर्षमै एसईई दिन सफल भएको बताए ।
तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढेका थिए । यहाँ पढ्न आउँदा उनी कक्षा ८ मा भर्ना भएका थिए ।