काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य विद्यार्थीहरूबाट अनलाइन आवेदन आह्वान गरेको छ । २०८२ असार १ देखि २०८३ जेठ ३१ सम्ममा स्नातक,स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीहरूले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यस पटक त्रिविले विद्यार्थीहरूलाई सुगम हुने गरी बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फाराम भर्दा नै आफू सहभागी हुने केन्द्र छनोट गर्नुपर्नेछ भने एमफिल, पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ।
दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक–फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ । जसअनुसार स्नातक तहका लागि तीन हजार, स्नातकोत्तर तथा एमफिलका लागि तीन हजार पाँच सय रुपैया र विद्यावारिधिका लागि चार हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ ।
साथै, गाउन–स्कार्फका लागि सबै तहका विद्यार्थीले दुई हजार पाँच सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ, जसमा पाँच सय रुपैयाँ मर्मत सम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीकै बैंक खातामा फिर्ता गरिनेछ। विद्यार्थीले बढीमा दुई जनासम्म अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रतिअभिभावक चार सय रुपैयाँ (फिर्ता नहुने) शुल्क लाग्नेछ।
इच्छुक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको लोगो अङ्कित प्रमाणपत्र राख्ने फोल्डरका लागि थप पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमा अनलाइन बैंकिङमार्फत मात्र दाखिल गर्न सकिने कार्यालयले जनाएको छ।