तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर बन्यो एनसेल

0 Shares

काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि टाइटल स्पोन्सर एनसेल आजियाटा लिमिटेडलाई बनाएको छ । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो ।

एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमीहरूको मन पर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

सन् २०२१ मा स्थापना भएको एनएसएलले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ ।

नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिमहरूबिच कडा प्रतिस्पर्धा हुनेछ ।

नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीका अनुसार यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने छ । बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ ।

त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास लिएको उनले बताए ।

सम्बन्धित समाचार